← Psalms (69/150) → |
1. | हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो। |
2. | त्यहाँ उभिने कुनै ठाउँ छैन। म तल-तल दलदलमा भाँसिदैछु। म गहिरो पानी भित्र छु, अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्। |
3. | तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें, |
4. | मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्। कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्। तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे। मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्, तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्। तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्। |
5. | हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन। म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिन। |
6. | हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्। |
7. | मेरो अनुहार शरमले ढाकिएको छ। म तपाईंको निम्ति त्यो शरम सहन्छु। |
8. | मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्। मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्। |
9. | तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु। |
10. | म रोएँ र उपवास बसें, अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे। |
11. | आफ्नो उदासीपन देखाउनलाई योत्रो पोशाक लगाएँ, अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे। |
12. | तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन। मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए। |
13. | तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहुन्छ। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहुन्छ, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नुसक्छु। |
14. | दलदल देखि मलाई तान्नु होस्। मलाई दलदल भित्र भासिन नदिनुहोस्। मलाई यो गहन पानीबाट बचाउनुहोस्। मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्। |
15. | पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्। |
16. | हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्। |
17. | तपाईंको दासबाट मुख नफर्काउनु होस्। म संकटमा छु। चाँडो, मलाई सघाउँनु होस्। |
18. | आउनु होस् र मेरो प्राण जोगाउनु होस्। मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्। |
19. | मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ, तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो। |
20. | गालीले मलाई धूलो-पिठो पारेको छ! म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसे, तर कोही पनि आएन। |
21. | तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्। |
22. | तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्। तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्। मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ। |
23. | तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैंको निम्ति दुर्बल हुन दिनुहोस्। |
24. | तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव तिनीहरूले पनि गरून्। |
25. | तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्। कोही पनि त्यहाँ बस्न नपाओस्। |
26. | तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्। त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्। |
27. | तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्। तपाईं कतिको असल हुनुहुन्छ भनी तिनीहरूलाई नदेखाउनु होस्। |
28. | जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्, तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्। |
29. | म दुःखीत र पीडित छु। परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्। |
30. | म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु। म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु। |
31. | यसले परमेश्वरलाई खुशी पार्नेछ! यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ। |
32. | नम्र मानिसहरू! परमेश्वरलाई उपासना गर्न जो आएका छन्। यी कुरा जानेर तिनीहरू खुशी हुने छन्। |
33. | किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ। |
34. | स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्। समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर। |
35. | परमप्रभुले सियोनलाई बचाउनुहुनेछ। परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्। |
36. | उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्, मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्। |
← Psalms (69/150) → |