← Psalms (22/150) → |
1. | हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ! |
2. | हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ तर तपाईंले मलाई उत्तर दिनु भएन अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ। |
3. | हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो। |
4. | हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो। |
5. | हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए। तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्! |
6. | यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्। |
7. | प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ। |
8. | तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!” |
9. | हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो। |
10. | तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ। म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ। |
11. | यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्। |
12. | मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ। |
13. | तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्। |
14. | मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो! |
15. | मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ। |
16. | दुष्ट मानिसहरू “कुकुरहरू” झैं हुन्, जो मेरो चारैतिर छन्। तिनीहरूले मलाई पासोमा पारे। तिनीहरूले मेरा खुट्टा र हातहरू सिहंजस्तै नै चिथोरेका छन् । |
17. | म मेरो हाडहरू देख्न सक्छु अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्! तिनीहरूले मलाई हेरिरहेका छन्! |
18. | ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्। तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्। |
19. | हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्। |
20. | हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्। |
21. | सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्। साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्। |
22. | हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउनें छु। |
23. | सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर। |
24. | किन? किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ। परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न। यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न। |
25. | हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु। ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु। |
26. | नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ! तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर! तिमीहरूका हृदयहरू सधैंको निम्ति खुशी रहोस्। |
27. | टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्। |
28. | किन? किनभने परमप्रभु नै राजा हुनुहुन्छ। उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ। |
29. | बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्! |
30. | अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा सर्वदा उहाँको विषयमा भन्ने छन्। |
31. | प्रत्येक मानिसहरुले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्। |
← Psalms (22/150) → |