| ← Psalms (10/150) → | 
| 1. | हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्। | 
| 2. | घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्। | 
| 3. | दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्। | 
| 4. | दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्। | 
| 5. | दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्। | 
| 6. | तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।” | 
| 7. | ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्। | 
| 8. | ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्। | 
| 9. | तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्। | 
| 10. | घरि-घरि ती दुष्ट मानिसहरूले असहाय मानिसहरूलाई कष्ट दिंदछन्। | 
| 11. | यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!” | 
| 12. | हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती’ पापीहरूलाई दण्ड दिनु होस् असहायहरूलाई नबिर्सनु होस्। | 
| 13. | किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न। | 
| 14. | हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँदछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ, यसैले सहयोग गर्नुहोस्। | 
| 15. | हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्। | 
| 16. | परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ। तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्! | 
| 17. | हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्! | 
| 18. | हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्। | 
| ← Psalms (10/150) → |