← Proverbs (11/31) → |
1. | केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। |
2. | अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। |
3. | ईमानदार मानिसहरूलाई आफ्नो इमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ। |
4. | धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ। |
5. | निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ। |
6. | सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषा द्वारा नै ध्वंश हुन्छन्। |
7. | जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन। |
8. | धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ। |
9. | अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञान द्वारा बचाइन्छन्। |
10. | जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ। तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्। |
11. | ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ। |
12. | असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्। |
13. | अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ। |
14. | मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ। |
15. | नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ। |
16. | एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ। |
17. | दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। |
18. | दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ। |
19. | साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन अनि मर्छन्। |
20. | कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ। |
21. | यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको संन्तानहरूलाई मुक्त पार्नेछन् |
22. | एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो। |
23. | जब धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ। |
24. | त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ। |
25. | उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ। |
26. | एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छ उसले सराप पाउँछ। तर जसले इच्छा र इमान्दारी पूर्वक बेच्छ उसले आशिर्वाद पाउँछ। |
27. | एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ। |
28. | जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढछ। |
29. | यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ। |
30. | धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्। |
31. | यदि एकजना धर्मी मानिसलाई अफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ। |
← Proverbs (11/31) → |