| ← Numbers (13/36) → |
| 1. | परमप्रभुले मोशालाई भन्नुभयो, |
| 2. | “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।” |
| 3. | यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरूभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए। |
| 4. | ती नायकहरूको नाम यी नै हुन्; रूबेनको कुलबाट जक्करको छोरो शम्मू, |
| 5. | शिमोनको कुलबाट होरीको छोरो साफात, |
| 6. | यहूदाको कुलबाट यपून्नेको छोरो कालेब, |
| 7. | इस्साकारको कुलबाट यूसुफको छोरो यिगाल, |
| 8. | एप्रैमको कुलबाट नूनको छोरो होशे, |
| 9. | बिन्यामीन कुलबाट रफूको छोरो पलती, |
| 10. | जबूलूनको कुलबाट सोदीको छोरो गद्दीएल, |
| 11. | मनश्शे कुलबाट सूसीको छोरो गद्दी, |
| 12. | दानको कुलबाट गमल्लीको छोरो अम्मीएल, |
| 13. | आशेरको कुलबाट माइकलको छोरो सतूर, |
| 14. | नप्तालीका कुलबाट वोफ्सीको छोरो नहबी, |
| 15. | गादको कुलबाट माकीको छोरो गूएल। |
| 16. | मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। मोशाले होशेलाई यहोशू भनी बोलाउँथे। |
| 17. | यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडीतिर जाऊ। |
| 18. | अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दूर्वल, अथवा कम्ती छन् अथवा ठूलो जन सँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्? |
| 19. | तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन्? |
| 20. | हेर जमीन मलिलो छ वा रूखा छ, अनि हेर यदि त्यहाँ रूखहरू छन् कि छैनन्। त्यस भूमिबाट केही फलहरू ल्याउनु जातिसक्दो कोशिस गर।” त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो। |
| 21. | यसकारण तिनीहरू सीनको मरूभूमि देखि रहोब द्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। |
| 22. | तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो। |
| 23. | त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। |
| 24. | इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो। |
| 25. | चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमि बारेमा खोजी गरी फर्के। |
| 26. | पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। |
| 27. | तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। |
| 28. | जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। |
| 29. | नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।” |
| 30. | त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं। |
| 31. | तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुने छैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।” |
| 32. | यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्। |
| 33. | हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान जसबाटलाई देख्यौ र तिनीहरूले हामीलाई मसिनो फट्यांग्राहरूलाई झैं हेरे। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।” |
| ← Numbers (13/36) → |