← Job (31/42) → |
1. | मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि वासना उब्जाउने तरिकाले म कुनै तुरूणीलाई हेर्दिनँ। |
2. | परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिं हो? उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम! |
3. | परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ, खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ। |
4. | मेरो चाल परमेश्वरले जान्नु हुन्छ मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ। |
5. | यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए र छली चालमा म फँसेको भए, |
6. | न्यायको तराजुमा परमेश्वरले मलाई तौलून् र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु। |
7. | यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए, यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने, |
8. | मैले रोपेको अन्न अर्कोले खावोस, र मेरा बाली जरै समेत उखेलिओस्! |
9. | यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने, |
10. | मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्, र अरू मानिसहरू उसित सुतोस्। |
11. | किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो, न्यायको साम्ने एउटा अपराध हो। |
12. | त्यो त नाश गर्ने आगो हुनेछ, मेरो सम्पूर्ण कुरा यसले उखेल्छ। |
13. | मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने, |
14. | परमेश्वरको अघाडी जाँदा म के गर्ने? उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने? |
15. | परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो। |
16. | गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन। |
17. | म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन। |
18. | तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ। |
19. | जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन। अथवा पोशाक हीन एक गरीब मानिस, |
20. | मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ। मैले आफ्नै भेडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए। |
21. | फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ। |
22. | यदि मैले त्यस्तो कहिल्यै गरे भने तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ। |
23. | तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ। |
24. | मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।” |
25. | म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन। |
26. | मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ। |
27. | मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ। |
28. | त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ। यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन। |
29. | जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ। |
30. | शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ। अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन। |
31. | मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ। |
32. | परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ। |
33. | अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन। |
34. | मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन। मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ। मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ। |
35. | अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु। मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्। म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्। म इच्छा गर्छु कि मैले जे कुकर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्। |
36. | तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु। |
37. | यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला। म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं। |
38. | मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन। |
39. | मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ। |
40. | यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।” अय्यूबका प्रवचन समाप्त भयो। |
← Job (31/42) → |