| ← Job (15/42) → |
| 1. | त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः |
| 2. | “अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ। तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ? |
| 3. | के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ। |
| 4. | अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन। |
| 5. | जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ। |
| 6. | म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ। |
| 7. | अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ? |
| 8. | के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ? |
| 9. | अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ |
| 10. | केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन। |
| 11. | परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ तर त्यति मात्र तिमीलाई प्रशस्त छैन हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ। |
| 12. | अय्यूब, तिमी किन बुझ्दैनौ? किन हामी सत्य देख्दैनौ? |
| 13. | जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ। |
| 14. | मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। |
| 15. | परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन। |
| 16. | मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ। |
| 17. | मेरो कुरा ध्यान दिएर सुन अय्यूब, अनि म यो तिमीलाई व्याख्या गर्नेछु। मैले के बुझे त्यही तिमीलाई भन्नेछु। |
| 18. | म तिमीलाई ती कुराहरू भन्नेछु, जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन् ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले ती कुराहरू तिनीहरूलाई भनेका हुन्। |
| 19. | तिनीहरू मात्र आफ्ना देशमा बस्थे। त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैनथे यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्। |
| 20. | दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ। |
| 21. | प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ। |
| 22. | दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ। |
| 23. | रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ। |
| 24. | चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ। |
| 25. | किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ। |
| 26. | त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ। उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ। |
| 27. | उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ। |
| 28. | तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ। |
| 29. | दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन। |
| 30. | ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ। |
| 31. | दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ। किन? किनभने उसले केही पनि पाउँने छैन। |
| 32. | उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन। |
| 33. | त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पाक्न अघिनै दाख गुमाउँछ। त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ। |
| 34. | किन? किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन। मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ। |
| 35. | दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।” |
| ← Job (15/42) → |