← 1Samuel (3/31) → |
1. | एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसंग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन। |
2. | एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। |
3. | शमूएल चाहि पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। |
4. | परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। |
5. | शमूएलले सोचे एलीले उसलाई बोलाएको यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइन। आफ्नो ओछ्यानमा गएर सुत” शमूएल आफ्नो ओछ्यानमा गए। |
6. | परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।” एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।” |
7. | अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन। |
8. | परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।” त्यत्तिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। |
9. | एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।”‘ यसकारण शमूएल ओछ्यानमा गए। |
10. | परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!” शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।” |
11. | परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। |
12. | मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु। |
13. | मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्। |
14. | यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।” |
15. | बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए। |
16. | तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।” |
17. | एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।” |
18. | शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।” |
19. | शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन। |
20. | त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए। |
21. | शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो। |
← 1Samuel (3/31) → |