← 1Samuel (23/31) → |
1. | मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।” |
2. | दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?” परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।” |
3. | तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौ। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।” |
4. | दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।” |
5. | यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए। |
6. | जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए। |
7. | मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। उ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।” |
8. | शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे। |
9. | शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।” |
10. | दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ। |
11. | के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।” परमप्रभुले भन्नु भयो, “शाऊल यो हुन आउँछ।” |
12. | दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?” परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।” |
13. | त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्। |
14. | दाऊद मरूभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरूभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो। |
15. | दाऊद जीपको मरूभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए। |
16. | तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। |
17. | जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।” |
18. | जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे। |
19. | जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ। |
20. | अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।” |
21. | शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्। |
22. | जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाक छ। उसले मलाई छक्याउन सक्छ।’ |
23. | दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।” |
24. | अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए। |
25. | शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरूभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरूभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए। |
26. | शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए। |
27. | त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।” |
28. | यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले। |
29. | दाऊद माओनको मरूभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए। |
← 1Samuel (23/31) → |